Harsamaya
कार्की आयोगमा रवि लामिछानेको बयान:  भदौ २४ गते भीडले धकेल्दै कारागार बाहिर पुर्‍यायो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २४ गते आफूलाई कारागार प्रशासनकै जानकारी र निर्देशनमा जबर्जस्ती बाहिर पठाइएको बताएका छन्।

उनका अनुसार भदौ २३ गतेसम्म कारागारको अवस्था सामान्य नै थियो। तर भदौ २४ गते दिउँसो करिब १२:३० बजे कारागारका नाइकेहरूले कार्यालयमा बोलाई बाहिर असामान्य अवस्था सिर्जना भएको, ठूलो भीड जम्मा भएको र आफूलाई परिवार तथा पार्टीको जिम्मा लगाएर बाहिर पठाउनुपर्ने अवस्था आएको जानकारी दिएका थिए।

लामिछानेले अदालतको आदेशबिना कारागारबाट बाहिर ननिस्कने अडान राखे पनि जेल प्रशासनले भीडलाई आफूले नै सम्झाउन सक्ने भन्दै पटक–पटक आग्रह गरेको बताए। त्यसपछि उनले कारागार परिसरभित्रैबाट भीडलाई सम्बोधन गर्न माइकको व्यवस्था गर्न आग्रह गरेका थिए।

तर प्रहरी तनावग्रस्त अवस्थामा हुँदा भीडले आफूलाई धकेल्दै कारागार बाहिर पुर्‍याएको उनको भनाइ छ। बाहिर पुगेपछि उनले कारागार नजिकैको एक रेस्टुरेन्टको बार्दलीमा उभिएर भीडलाई शान्त रहन, संयमता अपनाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गरेका थिए।

उनका अनुसार कारागार प्रशासनले औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र तयार गरिरहेको भए पनि पत्र तयार नहुँदै भीडले आफूलाई बाहिर लगेको थियो। पछि उक्त पत्र तयार भएको जानकारी पाए पनि त्यसमा आफ्नो कुनै हस्ताक्षर वा संलग्नता नरहेको उनले स्पष्ट पारे।

लामिछानेले भदौ २४ का घटनामा आफ्नो वा आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै संलग्नता नरहेको दाबी गरेका छन्। यदि कसैको संलग्नता भेटिए कडा कारबाही हुनुपर्नेमा आफूहरू प्रतिबद्ध रहेको उनले बताएका छन्।

कारागारबाट बाहिरिएपछि शुभेच्छुकहरूको सहयोगमा कलाकार रामकृष्ण ढकालको गाडीमार्फत आफू सुरक्षित स्थानमा पुगेको र तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका प्रमुखहरूलाई जानकारी गराएको उनले बताएका छन्। सोही साँझ भिडियो सन्देशमार्फत आफू सुरक्षित रहेको र अदालतमा पुनः उपस्थित हुने जानकारी पनि दिएका थिए।

उनका अनुसार भदौ २८ गते सुरक्षा प्रत्याभूति पाएपछि आफू पुनः कारागार फर्किएका थिए।

यस घटनाबाट सिक्दै उनले कारागार सुधारका लागि खुला कारागार नीति अवलम्बन गर्न, कैदीबन्दीको मानसिक स्वास्थ्य तथा कानुनी परामर्श प्रणाली सुदृढ गर्न र कैदी पुनर्समीक्षा संयन्त्र स्थापना गर्नुपर्ने सुझाव दिएका छन्।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update