काठमाडौं - भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ‘टीओबी समूह’का व्यक्तिहरूले भीड उक्साउने र अवस्था उग्र बनाउने काम गरेको निष्कर्षसहित कारबाही सिफारिस गरिएको छ।
जाँचबुझ प्रतिवेदनअनुसार टीओबी समूहका सदस्यहरू मोटरसाइकलमा चावहिल स्थित ओम अस्पताल नजिकबाट धोबी खोला कोरिडोर हुँदै बिजुलीबजारतर्फबाट नयाँ बानेश्वर पुगेका थिए।
त्यहाँ पुगेपछि उनीहरूले जेनजी प्रदर्शनकारीसहित ठूलो भीडलाई उक्साउँदै आन्दोलनलाई उग्र बनाउने र शान्ति भंग गर्ने गतिविधि गरेको प्रतिवेदनमा उल्लेख छ।
सोही आधारमा उक्त समूहको भूमिकाबारे थप अनुसन्धान गरी दोषी ठहर भएका व्यक्तिमाथि फौजदारी संहिताको दफा ३५ अनुसार कारबाही गर्न नेपाल सरकारसमक्ष सिफारिस गरिएको छ।
यसैबीच, भदौ २३ गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बल द्वारा संसद भवन परिसरमा गरिएको गोली प्रहारसम्बन्धी घटनामा संलग्न जिम्मेवार अधिकारी र जवानहरूको भूमिकामाथि पनि छानबिन आवश्यक रहेको औंल्याइएको छ।

