काठमाडौं - भदौ २३–२४ को घटनाका क्रममा महत्त्वपूर्ण सरकारी संरचनाको सुरक्षामा कमजोरी देखिएको भन्दै संलग्न सैनिक अधिकारीविरुद्ध कारबाही सिफारिस गरिएको छ।
जाँचबुझ प्रतिवेदनअनुसार नेपाली सेना तर्फबाट खटाइएका सुरक्षाकर्मीहरूले संवेदनशील स्थानको सुरक्षा व्यवस्थापन प्रभावकारी रूपमा गर्न नसकेको निष्कर्ष निकालिएको छ।
सुरक्षाका लागि खटाइएका प्रमुख स्थलहरू शीतल निवासमा सहायक रथी मनोज बैदवार नेतृत्वको टोली, बालुवाटारमा प्रमुख सेनानी दिवाकर खड्का नेतृत्वको टोली, सिंहदरबार सचिवालयमा प्रमुख सेनानी गणेश खड्का नेतृत्वको टोली र बानेश्वर क्षेत्रमा सुरक्षाका लागि सेनानी सन्तोष ढुंगेलको टोली खटिएका थिए।
प्रतिवेदनले यी स्थानहरूमा सुरक्षामा आवश्यक सतर्कता नअपनाइएको, समन्वय अभाव देखिएको तथा जोखिम व्यवस्थापनमा कमजोरी रहेको औंल्याएको छ। विशेषगरी अत्यावश्यक मानिने संरचनाको सुरक्षा सुनिश्चित गर्नुपर्ने अवस्थामा चुक हुँदा स्थिति थप जटिल बनेको उल्लेख गरिएको छ।
आयोगले सम्बन्धित अधिकारीहरू भूमिकामाथि प्रश्न उठाउँदै जिम्मेवारीअनुसार कारबाही गर्न सिफारिस गरेको छ। साथै भविष्यमा यस्ता संवेदनशील स्थानको सुरक्षामा थप कडाइ र प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ।

