काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले तीन वटा महत्त्वपूर्ण प्रतिवेदन तथा दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन तथा ‘सुशासन मार्गचित्र, २०८२’ सार्वजनिक गर्ने निर्णय गरिएको हो।
प्रधानमन्त्री कार्कीले बुधबार भदौ २३–२४ का घटनासम्बन्धी प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखेर सार्वजनिक गर्ने निर्णय गरेकी हुन्।
यसअघि मंगलबार नै उनले नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन पनि सोही सचिवालयको पुस्तकालयमा राखेर सार्वजनिक गर्ने निर्णय गरिसकेकी थिइन्।
त्यसैगरी, गत चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाट तयार गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय समेत गरिएको छ। उक्त मार्गचित्र सोही कार्यालयले सार्वजनिक गर्ने जनाइएको छ।

