काठमाडौं - जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा घाइते भएकी राज्यलक्ष्मी निरौलाले आफूले भोगेको पीडा सार्वजनिक गरेकी छन्। उनी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती हुन्।
आयोगसमक्ष दिएको बयानमा उनले भदौ २४ गते घरमै बसिरहेको बेला अचानक ढुंगामुढा सुरु भएको र कसले आक्रमण गर्यो भन्ने थाहा नभएको बताएकी छन्। ‘हामी ढुंगा नलाग्ने ठाउँमा बसेका थियौं, तर स्थिति एक्कासी भयावह बन्यो,’ उनले भनेकी छन्।
उनका अनुसार आक्रमणकारीहरू घरभित्र पसेपछि आगजनी भएको थियो। ‘आगोले छोएलगत्तै मेरो हात जल्यो, सास फेर्न नसकेर म बेहोस भएँ,’ उनले बयानमा उल्लेख गरेकी छन्। उनलाई खोज्न प्रहरीलाई करिब एक घण्टा लागेको र त्यसपछि उद्धार गरिएको उनले बताइन्।
प्रहरीका केही सदस्यहरूले आफूलाई फेला पारी उद्धार गरेको उल्लेख गर्दै उनले हालसम्म शरीर पोलिरहने, दाहिने हात राम्रोसँग नचल्ने जस्ता समस्या रहेको बताएकी छन्।
उनले सिंहदरबारजस्तो संवेदनशील स्थानमा समेत तोडफोड र आगजनी हुनु गम्भीर विषय भएको उल्लेख गर्दै यसमा संगठित रूपमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्नुपर्ने माग गरेकी छन्। ‘महत्त्वपूर्ण कागजात रहने स्थानमै आक्रमण हुनु सामान्य होइन,’ उनले भनेकी छन्।
उनले दोषीहरू अझै खुलेआम हिँडिरहेको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएकी छन्। ‘अपराधीलाई नियन्त्रणमा नल्याई चुनाव गराउने कुरा कसरी सम्भव हुन्छ?’ भन्दै उनले राज्य संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न आग्रह गरेकी छन्।

