Harsamaya
कार्की आयोगमा देउवाको बयान : ‘सामाजिक सञ्जाल प्रतिबन्ध हटाउन आग्रह गरेको थिएँ, हिंसात्मक गतिविधिमा संलग्नता छैन’

काठमाडौं - नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे आफ्नो संलग्नता अस्वीकार गर्दै सामाजिक सञ्जाल प्रतिबन्ध हटाउन आफूले आग्रह गरेको बताएका छन्।

जाँचबुझ आयोगसमक्ष दिएको बयानमा उनले २०८२ भदौ २३ गते आफू बुढानिलकण्ठ स्थित निजी निवासमै रहेको र बेलुका बालुवाटार पुगेको उल्लेख गरेका छन्। त्यहाँ उनले तत्कालीन प्रधानमन्त्रीसँग सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको र सोही दिन प्रतिबन्ध हटाइएको बताएका छन्। तर कुनै औपचारिक बैठकमा भने सहभागी नभएको उनको भनाइ छ।

भदौ २४ गते बिहान प्रदर्शनकारीहरू आफ्नै निवासमा भेला भई नाराबाजी गर्दा सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको र आफूहरू माथि हातपातसमेत भएको उनले बताएका छन्। उक्त घटनामा केही युवाले आफूहरूलाई जोगाएको र राति करिब १० बजे सुरक्षित स्थानमा पुगेको उनले उल्लेख गरेका छन्।

देउवाले आफ्नो निवासमा भेटिएको भनिएको रकम ठूलो परिमाणमा नरहेको दाबी गर्दै सामाजिक सञ्जालमा फैलिएका विवरण ‘एआईबाट सिर्जित’ हुन सक्ने बताएका छन्। साथै, यसबारे आफूले प्रहरीमा कुनै उजुरी नगरेको पनि स्पष्ट पारेका छन्।

उनले आफ्नो निवासमा भएको तोडफोड, आगजनी र लुटपाटबारे प्रहरीले विवरण संकलन गरे पनि त्यसको कारबाहीबारे जानकारी नभएको बताए। आन्दोलनका क्रममा राजनीतिक हस्तक्षेप गरेको भन्ने आरोपप्रति असहमति जनाउँदै उनले प्रहरीले स्थिति मूल्याङ्कन गर्न नसकेको हुनसक्ने टिप्पणी गरेका छन्।

देउवाले लोकतन्त्रमा प्रदर्शन गर्ने अधिकार रहेको उल्लेख गर्दै हिंसा, तोडफोड र लुटपाटमा संलग्न जोसुकैलाई कानुनी कारबाही हुनुपर्ने बताएका छन्। साथै, युवाको भावना समेट्दै नीतिगत, कानुनी र संस्थागत सुधार आवश्यक रहेकोमा जोड दिएका छन्।

उनका अनुसार भदौ २३ को घटनापछि बसेको मन्त्रिपरिषद् बैठकले निष्पक्ष छानबिनका लागि आयोग गठन, घाइतेको उपचार र मृतक परिवारलाई राहत दिने निर्णय गरेको थियो। उनले भदौ २४ गते नै प्रधानमन्त्री पदबाट राजीनामा दिएको पनि बयानमा उल्लेख गरेका छन्।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update