जनकपुर - जनकपुरधाममा जेन–जी मुभमेन्ट अलायन्सको सदस्यहरुले शान्तिपूर्ण धर्ना दिएका छन् ।
जेन–जी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरी बहादुर कार्कीको नेतृत्वमा गठित आयोगले सरकार समक्ष प्रतिवेदन हस्तान्तरण गरेपनि हालसम्म सार्वजनिक नभएकोमा दबाब दिन जेन–जी मुभमेन्टका सदस्यहरुले शान्तिपूर्ण धर्ना दिएका हुन् ।
उनीहरुले मंगलबार जनकपुरधामको जनक चोकमा प्लेकार्ड बोकेर शान्तिपूर्ण धर्ना दिएभने प्रतिवेदन सार्वजनिक गर्न नारासमेत लगाएका छन् ।
जेनजी आन्दोलनपछि गठन भएको सरकारको म्यानडेटमा उक्त आन्दोलनको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने उल्लेख रहेको जेनजी मुभमेन्ट अलायन्सका धनुषा जिल्ला प्रतिनिधि दीपिका लामाले बताइन् ।
तर सरकारले यति लामो समयसम्म उक्त प्रतिवेदन सार्वजनिक नगर्नु गलत रहेको बताइन् । उनका अनुसार सरकारले अब पनि दोषीलाई सार्वजनिक गरी कानुनी दायरामा नल्याउने हो भने जेन–जी आन्दोलनको कुनै मतलब नै भएन ।
उनले प्रतिवेदन सार्वजनिक नभएसम्म आफूहरु देशभरी नै शान्तिपूर्ण धर्ना गर्ने जानकारी दिइन । कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न मागसहित जेन–जी मुभमेन्ट अलायन्सले काठमाडौंसहित देशका विभिन्न मुख्य सहरहरुमा निरन्तर धर्ना एवम प्रदर्शन गर्दै आएको छ ।

