Harsamaya
काभ्रेमा जेनजी आन्दोलनमा ‘आपाराधिक उपद्रव’ गर्ने  नौ  जनाविरुद्ध मुद्दा दर्ता
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काभ्रेपलाञ्चोक - काभ्रे  जिल्ला अदालतमा नौ ‘आपाराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दर्ता भएका ती मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता भएको हुन् । 

गत भदौ २३ र २४ गते भएको आन्दोलनमा संलग्न भएकाविरुद्ध परेको किटानी जाहेरीका आधारमा प्रहरीले निरन्तर अनुसन्धान गरी नौ मुद्दा दर्ता गरेको जनाइएको छ । यसअघि इलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी पाँचखाल र पनौती नगरपालिका ३ कुशादेवीस्थित गोपी थापाले दर्ता गरेको आपाराधिक उपद्रवविरुद्धको अभियोग दर्ता भएको थियो भने पछिल्ला महिनामा ६ मुद्दा प्रहरीमा दर्ता गरिएका थिए । 

जिल्लास्थित सहायक जिल्ला न्यायाधिक्ता निष्ठा कर्माचार्यका अनुसार पनौतीका तत्कालीन नेपाली कांग्रेसका केन्दीय सदस्य शिवप्रसाद हुमागार्इं, पनौती नगर उपप्रमुख गीता बञ्जारा, पनौती नगर पूर्वप्रमुख भीम न्यौपाने तथा उनको छोरा दीपक न्यौपाने र २ नं वडाका अध्यक्ष पुरुषोतम अधिकारी तथा धुलिखेलका तत्कालीन नगरप्रमुख अशोक ब्याञ्जूलगायतले दिएको जाहेरीका आधारमा दर्जनौँ व्यक्तिविरुद्ध आपाराधिक उपद्रव मुद्दा दर्ता गरिएको हो ।

हुमागार्इंको जाहेरीमा ६ जनाविरुद्ध, अधिकारीले १४ जनाविरुद्ध, जाहेरीमा ११ जनाविरुद्ध, न्यौपानेद्वयले २०/२० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । यस्तै नगरप्रमुख रामशरण भण्डारीले दिएको जाहेरी भने तामेलीमा राखिएको जनाइएको छ । यसअघि आरोप लागी पक्राउ गरिएका अधिकांश धरौटीमा छुटेका छन् । निर्वाचनअघि सरकारले परिपत्र गरेपछि हिरासतमा रहेकलाई धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । 

पूर्व नगरप्रमुख न्यौपानेले गत भदौ २४ गते घरमा भएको आगलागीका कारण ९४ लाख ९३ हजार ५१० क्षति भएको जाहेरीमा उल्लेख गरेका छन् । यस्तै दीपक न्यौपानेको जाहेरीमा ६० लाख ६२ हजार २८५, बञ्जाराको जाहेरीमा रु ८४ लाख १३ हजार क्षति भएको उल्लेख गरिएको छ । त्यस्तै अधिकारीले ६ लाख ५६ हजार, हुमागार्इंको रु ३६ लाख ७४ हजारको क्षति भएको उल्लेख छ । 

यसैगरी ब्याञ्जूको किटानी जाहेरीमा करिब ६० लाख क्षति भएको उल्लेख गरिएको छ । किटानी जाहेरी दर्ता गर्नेले आफ्नो घरमा आगजनी, तोडफोड तथा लुटपाट गरिएको उल्लेख गरेका छन् । जिल्ला प्रहरी प्रमुख कोमल शाहले दर्ता भएका मुद्दामा संलग्न भएकाको खोजीकार्य एवं थप अनुसन्धान भइरहेको बताए । 

जिल्ला प्रशासन कार्यालयका अनुसार आन्दोलनका क्रममा जिल्लाका विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पर्याइएको थियो । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पुर्याइएको थियो ।  उक्त आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार जनाले काठमाडौंमा ज्यान गुमाएका थिए । 

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update