Harsamaya
जेन–जी आन्दोलनमा वीरगन्जका एक युवाको मृत्यु भएको पुष्टि
जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका वीरगन्ज महानगरपालिका–१२ बस्ने २२ वर्षीय असाहव आलम ठकुराईकी आमा ।

वीरगन्ज - जेन–जी आन्दोलनका क्रममा वीरगन्जका एक युवाको मृत्यु भएको पुष्टि भएको छ ।

वीरगन्ज महानगरपालिका–१२ बस्ने २२ वर्षीय असाहव आलम ठकुराईको आन्दोलनकै क्रममा गोली लागेर ज्यान गएको उनका परिवारले बताएका छन् ।

असाहव आलमकी आमा नाजला खातुनका अनुसार, मंगलबार बिहान करिब १० बजे उनी छोरासँग मोबाइलमा कुरा गरेकी थिइन् ।

तर त्यसपछि मोबाइल स्विच अफ भएपछि सम्पर्क हुन सकेको थिएन । पछि आफन्त र सामाजिक सञ्जालमार्फत खोजतलास गर्ने क्रममा आसाहव आन्दोलनमा छातीमा गोली लागेर ज्यान गुमाएको र शव टीचिङ अस्पताल काठमाडौंमा रहेको जानकारी पाइएको हो ।

नाजला खतुनले भनिन् ‘मेरो छोराको बिहे भएको दुई महिना दुई दिन मात्रै भयो । ऊ काठमाडौंमा होटल म्यानेजमेन्ट पढ्दै पठाओमा काम गर्दैथियो । अब हामीलाई हेरचाह गर्ने कोही रहेन ।’

परिवार र आफन्तका अनुसार, मृतकको शव वीरगन्ज ल्याउने तयारी भइरहेको छ । असाहव आलमको निधनसँगै आन्दोलनका क्रममा वीरगन्जमा स्थानीयहरूबीच शोक छाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update