Harsamaya
रौतहटमा प्रहरी र नगरपालिकाको गाडीमा आगजनी, प्रशासनले लगायो कर्फ्यू 
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जेनजीले प्रहरीको गाडीमा आगो लगायो ।

रौतहट - रौतहटको चन्द्रपुर नगरपालिकासहित प्रहरीको गाडीमा आगजनी भएको छ  । 

सो क्रममा प्रहरीले दर्जनौं राउन्ड फायर गरेको छ  । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा प्राङ्गणमा प्रवेश गरेका आन्दोलनकारीले ढुङ्गामुढा गर्नुका साथै भित्र पार्किङमा राखिएको प्रहरीको सवारी साधनमा समेत आगो लगाएका हुन् । 

प्रहरीले आन्दोलनलाई तितरबितर पार्नका लागि निरन्तर हवाई फायर गरिरहेको अवस्था छ । ट्राफिक प्रहरी कार्यालय परिसरमा समेत आगजनी भएको छ  । चन्द्रपुर नगरपालिकाको कार्यालय सहितका सवारीमा आगजनी भएको छ । 

नगरपलिका परिसरमा रहेका सवारी साधन तोडफोड गरि आगजनी गरेको हो । यहाँ विभिन्न स्थानमा मंगलवार बिहानदेखि नै जेनजी युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन् । जेनजी युवा पुस्ताले भ्रष्टाचारसहितका बेथितीका विरुद्ध गरिरहेको प्रदर्शनमा सोमबार भएको सरकारी दमनका विरुद्ध प्रदर्शन गरिएको हो । चन्द्रपुर, गौर, गरुडासहितका क्षेत्रमा भेला भएका उनीहरूले सरकार र प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

जेनजी आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्गको यातायात पुणरुपमा प्रभावित भएको छ । लाई मध्यनजर गर्दै रौतहट प्रहरीले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

कर्फ्यू जारी 
जेनजी प्रदर्शन उग्र बन्दै गएपछि रौतहट प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ  । स्थानीय प्रशासनले अहिले ११:३० बजे देखि अर्को सूचना जारी नहुँदासम्मका लागि कर्फ्यू आदेश जारी गरेको  हो ।

उत्तरमा चपुर चोक देखि गैंडाटार जाने सडक को पानीटंकीसम्म, पुर्वमा चादी पुलसम्म, पश्चिममा ट्राफिक कार्यालय र दक्षिणमा घोडदेवी मन्दिरसम्म कफ्र्यु जारी  भएको रौतहट प्रशासनले जारी गरेको कर्फ्यू आदेशमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update