Harsamaya
प्रधानमन्त्रीले भने - जेनजी प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मर्माहत बनाएको छ
प्रधानमन्त्री केपी शर्मा ओली। 

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन् । 

आज भएको घटनाका सम्बन्धमा आफ्नो भनाइ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले घटनाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने बताए । 

‘आजको घटनाका मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्ने छ र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने छ । आजको सम्पूर्ण घटनाक्रम र क्षति एवं त्यसको अवस्था र कारण समेतको छानबिन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरु हुन नदिन चालिने कदमहरुको सिफारिस समेत गर्नका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन गरिने कुराको विश्वास दिलाउन चाहन्छु’, उनले भने । 

उनले जेनजीले आज शान्तिपूर्ण रुपमा माग राख्नेमा आफूहरु आश्वस्त रहे पनि प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका भएकाले नागरिकले ज्यान गुमाउने अवस्था आएको समेत बताए ।

प्रदर्शनका आयोजक स्वयंले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर आजको प्रदर्शन सफल भएको र ढिलो नगरी सबैलाई घर फर्कन आह्वान गरिसकेपछि घुसपैठियाहरुले तोडफोड र आगजनी गरेको उनको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  २३:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update